हामी दाजुभाइ समुहको आयोजनामा नेपालमा पहिलो पटक पुरुष दिवस मनाइयो |
काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तरराष्ट्रिय पुरुष दिवस मनाइएको छ । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन’ भन्ने मूल नाराका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो ।
बालक तथा किशोरमाथि भइरहेको यौनदुव्र्यवहारका समस्या समाजमा लुकिरहेकोले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएको बताइएको छ । महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौनदुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले नेपालको कानूनले महिलालाई जबरजस्तीकरणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको भएपनि पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको बताए । एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको उनले बताए ।