राष्ट्रिय बीमा कम्पनीको नाफा पाँच करोड माथि |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दोस्रो ठूलो शेयरमूल्य रहेको यस कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा २८ लाख ३० हजार बढी नाफा कमाएको हो । गत वर्ष कम्पनीले ४ करोड ८० लाख १६ हजार खुद नाफा कमाएको थियो ।
प्रथम त्रैमासमा कम्पनीले दुई करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष एक करोड ८८ लाख बराबरको भुक्तानी गरेको थियो । कम्पनीले अझै ६५ वटा दाबीबाट परेको २ करोड २९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिन्छ । कम्पनीले भुक्तान गरिएको संख्या भने खुलाएको छैन ।
चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषको आकार दुई अर्ब ९ करोड ६० लाख पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा एक अर्ब ९६ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको थियो ।
जगेडा कोष मजबुत बन्दै गएपश्चात कम्पनीको प्रतिशेयर नेटवर्थ ८८६ रुपैयाँ ११ पैसा कायम भएको छ । उसको बीमा कोषमा एक अर्ब ३७ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यस अवधिमा ६ करोड ६७ लाख ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको प्रथम त्रैमासमा यस कम्पनीको खुद बीमा शुल्क आय ७ करोड ४५ लाख रहेको थियो । गत आवको प्रथम त्रैमासको तुलनामा खुद बीमा शुल्क आय १०.३६ प्रतिशतले घटेको हो ।
प्रथम त्रैमाससम्म कम्पनीले करिब ४ हजार बीमालेखबाट ३१ करोड ९६ लाख ८५ हजार रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ । जसले पुनर्बिमा कमिशनबाट ४ करोड ८९ लाख आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ७६ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ५२२.५७ गुणा रहेको छ । यस कम्पनीले १२० प्रतिशत बोनस घोषणा गरेपनि राष्ट्रिय बीमा संस्थानसँगको हिसाब नमिल्दा बीमा समितिले रोक लगाएकाले वितरण गर्न सकेको छैन ।
विगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा विभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको थियो ।