शिखर इन्स्योरेन्सको नाफा १० करोड ५७ लाख |
काठमाडौं । शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो १०.६४ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा यो ५ करोड ३० लाख रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ छ । यस्तै कम्पनीको जगेडा कोषमा २९ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा ९० करोड ४० लाख रुपैयाँ र महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २३ करोड ९६ लाख र बीमा कोष २२ करोड ८ लाख रुपैयाँले बढेको छ भने यस कम्पनीको जगेडा कोषको आकार भने एक करोड ८७ लाखले घटेको छ ।
कम्पनीको पुर्नबीमा शुल्क वापत ११ करोड रुपैयाँ तथा लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले ७९ हजार १३० बीमा लेखा जारी गरी ८ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने १४ हजार १०२ बीमालेख नवीकरण भएका छन् ।
कम्पनीले कुल एक हजार ८९३ दाबी वापत ३६ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १९८ दाबीमा लागि ८२ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी (इपिइस) ३९ रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४६ पैसा, र मुल्य आम्दानी अनुपात २२.५ गुणा बढी छ ।