आजदेखि राष्ट्रिय परिचय पत्र वितरण शुरु | आगामी ३ वर्षमा १६ वर्ष उमेर पुगेका सबैलाई दिइने
काठमाडौं । सरकारले लामो समयको गृहकार्य पश्चात आज सोमबारदेखि राष्ट्रिय परिचय पत्र वितरण गर्दैछ । जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ ।
अबको ३ वर्षमा १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई यो परिचयपत्र वितरण गर्ने लक्ष्य सरकारले लिएको छ । सरकारले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचय–पत्र वितरण गर्नेछ । पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्नेछन् । त्यसका लागि गृहमन्त्री थापा आज ११ बजे फिदिम पुग्दैछन् । पाँचथर जिल्लाका एकलाख १० हजार नागरिक र सिंहदरबारका उच्च पदस्थसहित सातहजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने विभागको योजना छ ।
विभागले परिचयपत्रलाई ‘जी टु जी’ (सरकारदेखि सरकारसम्म) र ‘जी टु सी’ (सरकारदेखि जनतासम्म) पुर्याइने नीति लिएको छ ।
सरकारले पहिलो चरणमा राष्ट्रिय परिचय पत्र वितरणको लागि पाँचथरका ५२ हजार नागरिक र सिंहदरबारका उच्च पदस्थ कर्मचारीको समेत तथ्यांक संकलन यस अघिनै गरिसकेको छ ।
विभागले यस अघि गरेको बायोमेट्रिक विवरण वितरणको समयमा लिइने बायोमेट्रिकसँग प्रमाणीकरण भएपछि मात्र व्यक्तिलाई परिचयपत्र वितरण दिने व्यवस्था मिलाएको छ । चिप्स र युनिक कोडसहित व्यक्तिको फोटोसमेत रहने यो परिचय पत्रमा सम्बन्धित व्यक्तिको हातका दशवटै औंलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्केन जडिएकाले यो परिचय अन्यभन्दा भरपर्दो हुने बिभागको भनाई छ ।
परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्ने गरी तयार पारिएको विभागले दाबी गरेको छ । नेपाली नागरिकताको प्रमाणपत्रको कमी कमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६⁄६७ को सरकारको नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय–पत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने उल्लेख गरिएको थियो । मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।