आकस्मिक प्रहरी सेवाका लागि अबदेखि ‘१००’ नम्बरमा म्यासेज पनि निःशुल्क |
काठमाडौं । अब आकस्मिक प्रहरी सेवाका लागि १०० नम्बरमा म्यासेज पनि निःशुल्क गर्न पाइने भएको छ । यसअघि उक्त नम्बरमा फोन गर्दा मात्र निःशुल्क गरिएकोमा अबदेखि सो सेवामा विस्तार गर्दै महानगरीय प्रहरी कार्यालयले आजदेखि नै म्यासेज गर्ने सुविधा पनि निःशुल्क गरेको हो । १३औं महानगरीय प्रहरी दिवसको अवसरमा आइतवार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा निमित्त प्रहरी प्रमुख (एआईजी) पुष्कर कार्कीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
उपत्यकामा आकस्मिक प्रहरी सेवाका लागि मोबाइल सेवा प्रयोगकर्ताहरूले प्रहरी कन्ट्रोलको ‘१००’ मा निःशुल्क फोन गर्दै आएका थिए । अब १०० मा गरिने एसएमएस पनि निःशुल्क गर्न पाइने महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको हो ।
दुई डीएसपीसहित सात प्रहरी–कर्मचारी सम्मानित
प्रहरी दिवसका अवसरमा महानगरीय प्रहरी कार्यालयले दुई जना प्रहरी नायव उपरीक्षकसहित अन्य सात प्रहरी कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । सो अवसरमा महानगरीय प्रहरी परिसरमा कार्यरत डीएसपी राजेन्द्र धमला र सिंहदरबार वृत्तमा कार्यरत डीएसपी काजीकुमार आचार्यसहित सात प्रहरी सम्मानित भएका हुन् ।
कदरपत्रसहित सम्मानित हुने अन्य प्रहरी कर्मचारीहरूमा ट्राफिक व्यवस्थापनतर्फ महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीका इन्सपेक्टर प्रदीपसिंह राठौर, अपराध अनुसन्धानतर्फ भक्तपुर परिसरमा कार्यरत इन्सपेक्टर कृष्ण श्रेष्ठ, सामुदायिक सेवातर्फ सई रत्नबहादुर थापा, प्रशिक्षणतर्फ जवान कमल कुँवर र महिला बालबालिकातर्फ प्रहरी जवान गोमा थापा रहेका छन् ।