४० देखि ८० करोड आयकर समुहमा नेप्से बन्यो बढी आयकर तिर्ने |
काठमाडौं । सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । वार्षिक ४० करोड रुपैयाँसम्म आयकर भएकामध्ये बढी आयकर तिर्नेमा नेपाल इन्भेस्टमेन्ट र ४० देखि ८० करोड रुपैयाँसम्म आयकर भएकामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल स्टक एक्सचेन्ज रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सिप्रदी ट्रेडिङका सिद्धार्थ राणाले सरकारलाई सबैभन्दा बढी व्यक्तिगत आयकर बुुझाएका छन् ।
सबैभन्दा बढी कर तिर्ने व्यावसायिक संस्थामा सूूर्य नेपाल परेको छ । सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई कर दिवसको अवसर पारेर सम्मान गर्ने गरेको छ । शनिबार गरिएको सम्मानअनुसार निर्यातकर्तामा सबैभन्दा बढी कर तिर्नेमा डाबर नेपाल परेको छ । मदिरा र चुुरोटबाहेक उत्पादन र ऊर्जामूलक क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्नेमा हिमाल पावर लिमिटेड हो ।
कृषि उद्योग क्षेत्रबाट प्रोबाटिक इन्डस्ट्रिज, सहकारी तथा लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक, बिमा व्यवसायमा नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य शिक्षामा नोबल मेडिकल कलेज टिचिङ हस्पिटल, सूचना प्रविधि सेवामा एफ वान सफ्ट इन्टरनेसनल, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल र व्यापार व्यवसायमा सिप्रदी ट्रेड्रिङले सबैभन्दा बढी आयकर बुुझाएका छन् ।
२०६५ साउन १ देखि २०७५ को असारसम्ममा नियमित कर बुुझाउने र गत वर्ष सबैभन्दा बढी मूल्य अभिवृद्धि कर बुुझाउने उद्योग घोराही सिमेन्ट परेको छ । ती करदाताहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन ।