तामाकोशीको आईपीओ यसै साता बाँडफाँड गर्ने तयारी | धेरै आवेदकको आवेदन रद्द
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनले सर्वसाधारणका लागि निष्कासन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए । सोमबारसम्ममा मात्र दोहोरो आवेदनका कारण ६ हजारभन्दा बढी आवेदन रद्द भएको सनराइज क्यापिटलले जानकारी दिएको छ ।
अझै यस्ता आवेदनको खोजी भैरहेको छ । सबै आवेदन रुजु गर्दा अझै धेरै आवेदन रद्ध हुने बताइएको छ । यसका साथै अन्य कारणले आवेदन रद्ध हुनेको संख्या पनि धेरै हुन सक्ने आँकलन गरिएको छ ।
सबै आवदनलाई अन्तिम रुप दिएर आगामी शुक्रबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी बिक्री प्रबन्धकहरुले गरेका छन् । यद्यपी मिति भने तय गरिएको छैन । कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।
शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो ।कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।