पोखरामा ५० लाखको लागतमा हट एयर बेलुन सञ्चालन | स्वदेशीलाई प्रतिव्यक्ति ११ हजार, विदेशीलाई १६० डलर
पोखरा । नेपालको पर्यटकीय नगरी पोखरामा हिजो शनिवारदेखि अर्को साहसिक खेल हट एयर बेलुन पनि थपिएको छ । बोटिङ, बञ्जी जम्प, जिप फ्लायर, क्यानोनिङलगायतका सेवा पाइने पोखरामा बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट उक्त बेलुन ल्याएको हो । शनिवार उक्त बेलुनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।
बेलुनको उद्घाटनसँगै अबदेखि पोखरामा हट एयर वेलुनमा उडेर पोखरावरपरको मनोरम दृश्यको दृश्यावलोकन गर्न पाइने भएको छ । उक्त बेलुनमा ६ देखि ८ जनासम्म चढ्न मिल्ने कम्पनीले बताएको छ । नेपालीका लागि प्रतिव्यक्ति ११ हजार रुपैयाँ शुल्क तेकिएको उक्त सेवाका लागि विदेशी नागरिकले भने १६० डलर तिर्नुपर्ने सञ्चालक तथा प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । उनका अनुसार प्रत्येक यात्रुको रू. २० हजार डलरको बीमा गरिएको छ ।
उद्घाटनका अवसरमा मुख्य .मन्त्री गुरुङले प्रदेश सरकारले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै पर्यटनविना समृद्धि प्राप्त नहुने धारणा राखे । प्रदेश सरकारले प्रदेशको जनसंख्याकै हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको उनको भनाइ थियो ।