एक सातापछिदेखि कलंकीको अण्डरपास वे पूर्ण रूपमा सञ्चालनमा आउने | कोटेश्वर–कलंकी सडक खण्ड पनि अन्तिम चरणमा, डिसेम्बर १५ मा विभागलाई हस्तान्तरण गरिने
काठमाडौं । भदौ १ गते पहिलो पटक संचालनमा ल्याइएको कलंकीको अण्डरपास वे अबको एक सातापछि पूर्ण रूपमा सञ्चालना आउने भएको छ । नेपालकै पहिलो यो अण्डरपासमा हाल ‘फिनिसिङ’ को कार्य भइरहेको छ । फिनिसिङ कार्यका लागि यो अण्डर पास चार दिनदेखि बन्द गरिएको छ ।
अण्डरपासका वालहरूमा रङरोगन गर्ने, सतह (पेभमेन्ट) मा लेन छुट्याउनका लागि पेन्टिङ गर्ने, अण्डरपासभित्र सरसफाइ गर्ने, ट्राफिक सिग्नल राख्ने तथा केही प्राविधिक कामहरू समेतका लागि चार दिनदेखि अण्डरपास पूर्ण रूपमा बन्द गरिएको र एक सातापछिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।
अर्यालले अण्डरपास उज्यालो नै रहेकाले लाइटिङको आवश्यकता नरहेको बताए । सधैंजसो घण्टौंसम्म जाम भइरहने कलंकी अण्डरपास सञ्चालनमा आएपछि जामको समस्या कम हुने विश्वास गरिएको छ । अण्डरपाससँगै कोटेश्वर–कलंकी १०.४ किलोमिटर खण्ड विस्तारको कार्य पनि अन्तिम चरणमा पुगेको योजनाले बताएको छ । डिसेम्बर १५ मा सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको अर्यालले जानकारी दिए ।
चिनियाँ पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा यो सडक खण्ड विस्तार र अण्डरपास निर्माण भइरहेको हो ।