एनएमबि बैंकको नाफा १८.८१ प्रतिशतले बढयो |
काठमाडौं । असोज मसान्तसम्म बैंकले ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १८.८१ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी वृद्धिको तुलनामा बैंकले नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी केहि खस्किए पनि बैंकका अन्य सूचकहरु भने सकारात्मक रहेका छन् ।
बैंकको नाफा बढेपनि पूँजी वृद्धिको अनुपात कम हुँदा प्रतिशेयर आम्दानी तीन रुपैयाँ ७ पैसाले घटेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २१ पैसामा कायम भएको छ । गतवर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ १५ पैसा थियो ।
बैंकले ४९ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट ९.११ प्रतिशतले धेरै हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ४५ करोड १३ लाख रुपैयाँ थियो । असोज मसान्तसम्ममा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा लगानी जोड दिएको छ । ८५ अर्ब ८३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८२ अर्ब ७७ करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
गत बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको निक्षेप १९.३० प्रतिशतले बढ्दा कर्जा ३०.३९ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ९७ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ५६.२० प्रतिशत अर्थात ३५ करोड १२ लाख रुपैयाँले धेरै हो ।
बैंकको निष्कृय कर्जा अनुपात घटेको छ । गत वर्षको यसै अवधिमा १.६७ प्रतिशत रहेको निष्कृय कर्जा ०।७६ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ७५ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.५१गुणा बढी छ ।