सन नेपाल लाइफको आईपीओको प्रक्रिया शुरू भो | ६० करोड रुपैयाँबराबरको आईपीओका लागि औसत रेटिङ
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आईपीओ रेटिङ गरेको छ । नयाँ अनुमति पाएर सञ्चालनमा आएको उक्त बीमा कम्पनीले ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । केयर रेटिङ नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ ।
रेटिङ एजेन्सी केयर नेपालका अनुसार बीमा समितिले पछिल्लो समयमा नौवटा जीवन बीमा कम्पनीलाई अनुमति प्रदान गर्दा १८ वटा जीवन बीमा कम्पनी पुगेको र सन नेपाल लाइफ १४औं स्थानमा रहेको छ । बजारमा थप नौवटा जीवन बीमा कम्पनी आएपछि धेरै नै प्रतिस्पर्धा रहेको केयर नेपालले बताएको छ । केयर नेपालका अनुसार समग्र बजारमा सन नेपालको हिस्सा ०.५८ प्रतिशत रहेको छ ।
सञ्चालक अध्यक्ष अनुज कयाल र निमित्त कार्यकारी प्रमुख राजकुमार अर्याल रहेको उक्त कम्पनीको मुख्य लगानीकर्तामा कयाल ग्रुप रहेको छ । कम्पनीको हाल केन्द्र सहित २० वटा शाखा र ७० वटा उपशाखा कार्यालयहरू छन् ।