सनराइज बैंकको खुद नाफा ३३ करोड १४ लाख |
काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो । बैंकले २७ करोड २० लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो रकम २० करोड ३७ लाख रहेको थियो ।
बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँमा स्थिर रहे पश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाबाट १६ रुपैयाँ २६ पैसामा बढेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात १५.०६ गुणा बढी रहेको छ ।
समिक्षा अवधिमा बैंकले ११७.२९ प्रतिशतले जगेडा कोष बढाउँदा तीन अर्ब ७३ करोड एक लाख सञ्चित हुन पुगेको छ । गत वर्षको प्रथम त्रैमासमा बैंकको जगेडा कोषमा एक अर्ब ७७ करोड ६६ लाख रुपैयाँ मात्र सञ्चित रहेको थियो ।
यस अवधिमा बैंकको निक्षेप ६३ अर्ब ६१ करोड ५४ लाख रहेकोमा ७५ अर्ब ७९ करोड २४ लाखमा बढोत्तरी गरेको छ । त्यसैगरि कर्जा परिचालनतर्फ ५४ अर्ब ४९ करोड १७ लाख रहेकोमा बढोत्तरी गरेर ६६ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा रहेको १.४९ प्रतिशतको खराब कर्जा अनुपातलाई चालू आवको प्रथम त्रैमासमा १.१२ प्रतिशतमा झरेको छ ।
चालू आवको तीन महिना अवधिमा नै ८२ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । यस अवधिमा बैंकले २ अर्ब २० करोड ब्याज आम्दानी गरेर १ अर्ब ३७ करोड ब्याज खर्च गरेको हो ।
गत आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१ करोड ३८ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३० करोड ७९ लाख रुपैयाँले बढाएको हो ।