चिलिमेको नाफामा गिरावट, खुद नाफा २६ करोड ७८ लाख |
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा खुद नाफा ४ करोड १२ लाख रुपैयाँले कम हो । हाइड्रोले गत बर्ष ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हाइड्रोको विद्युत विक्रीबाट भएको आम्दानी घटेपछि खुद नाफामा गिरावट आएको हो । गत बर्ष विद्युत विक्री मार्फत ३६ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३६ करोड १६ लाख रुपैयाँ बराबरको मात्र विद्युत विक्री गरेको छ ।
हाइड्रोले असोज मसान्तसम्मको विद्युत विक्री आय ७९ लाख १४ हजार रुपैयाँ अर्थात २.१४ प्रतिशतले कमी भएको विवरणमा उल्लेख गरेको छ । विद्युत विक्री घट्नुका साथै हाइड्रोको सञ्चालन खर्च र प्रशासनिक खर्चमा समेत बढोत्तरी देखिएका कारण हाइड्रोको खुद नाफा घटेको हो ।
यसका साथै हाइड्रोको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५६ पैसाले घटेको छ । गत बर्ष ३५ रुपैयाँ ८६ पैसा रहेकोमा यो बर्ष हाइड्रोको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३ पैसा छ ।
हाइड्रोको ब्याज आम्दानी १५० प्रतिशतले बढेको छ । गत बर्ष ६४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हाइड्रोले समीक्षा अवधिमा १ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । ३ अर्ब ९६ करोड चुक्ता पूँजी रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात २६.६४ गुणा छ ।