निर्मलाका आमाबुबा धर्ना बसेकै ठाउँमा बिरामी | बुबालाई ज्वरो र रुघाखोकी, आमालाई पनि ज्वरोका साथै रक्तचाप घट्ने समस्या
कञ्चनपुर । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । कात्तिक २५ गतेदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।
धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखाखोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आउनुका साथै रक्तचाप पनि घटेको छ ।
उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रिँदै गएको जानकारी दिए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन ।
यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी राख्ने बताए । साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।