सिटी एक्सप्रेस फाइनान्सको १३औ वार्षिक साधारणसभा सम्पन्न | चुक्तापूँजी रू. ८० करोड पुर्याउने तथा साझेदार भित्र्याउने प्रस्ताव पारित
काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले संस्थाको चुँक्तापूँजी रू. ८० करोड पुर्याउने तथा उपयुक्त रणनीतिक साझेदार भित्र्याउनेलगायतका विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।
सो अवसरमा संस्थाको संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आव ०७४७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरूले थप पूँजी लगानी गरेपश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिवर्तनसंँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामबाट आवश्यक सम्पूर्ण पूर्वाधारहरू तयार गरी दक्ष कर्मचारीहरूको साथमा केन्द्रीय कार्यालय, घण्टाघर काठमाडौं तथा शाखा कार्यालयहरू गाइघाट र विर्तामोडबाट वित्तीय कारोबार गर्दै आइरहेको व्यहोरा जानकारी गराए ।
उनले संस्थालाई सबल वनाउनका लागि अन्य वित्तीय संस्थाहरूलाई प्राप्ति गर्ने, कर्मचारी व्यवस्थापनलाई मजवुत बनाई अब्बल संस्थाको रूपमा अगाडि बढाउने उद्घोष पनि गरे ।
संस्थाका कार्यकारी प्रमुख भीष्मराज चालिसेले रणनीतिक साझेदारको खोजी गर्दै चुक्तापूँजीको दायरालाई फराकिलो बनाउँदै आवश्यक शाखा सञ्जाल तथा व्यवसायलाई विस्तार गर्ने बताए । साथै संस्थाले निकट भविष्यमा एटीएम र इण्टरनेट बैंकिङ सुविधा थप गर्न व्यवस्था मिलाउने पनि बताए ।