रंगेलीका मेयरको इँटाभट्टाबाट साढे २ किलो गाँजासहित एक भारतीय पक्राउ |
मोरङ । मोरङको रंगेली नगरपालिका ३ स्थित एक इँटाभट्टाबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया सञ्चालक रहेको आनन्द इँटाभट्टाबाट प्रहरीले साढे २ किलो गाँजासहित भारत बंगाल कुसबिहार घर भएका ३० वर्षीय हेमन्त बर्मनलाई पक्राउ गरेको बताएको हो ।
सो इँटाभट्टामा मजदुरको रूपमा काम गर्दै आएका बर्मनले उद्योगमा क्यान्टिनसमेत सञ्चालन गरिरहेका थिए । उनले भारत र नेपालबाट गाँजा मगाएर भट्टाका मजदुरलाई महँगोमा बेच्ने गरेको प्रहरीले बताएको छ ।
इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्दा झोलामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्रकुमार कार्कीले बताए । पक्राउ परेका बर्मनलाई जिल्ला अदालत मोरङबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।