बजेटमा व्यवस्था गरिएको सहुलियत कर्जा लिन बैंकहरूले गरे आग्रह |
काठमाडौं । नेपालका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहुलियत कर्जा लिन सर्वसाधारणलाई आग्रह गरेका छन् । चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएअनुरुप क, ख र ग वर्गका बैंक, वित्तीय संस्थाहरूका छाता संगठनहरू नेपाल बैंकर्स एशोसिएसन, डेभलपमेन्ट बैंकर एशोसिएशन र वित्त कम्पनी संघले त्यस्तो कर्जा लिन बिहीवार सार्वजनिक सूचना नै जारी गरी आग्रह गरेका हुन् ।
शिक्षित युवा, स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडितको निजी आवास निर्माण एवम् व्यावसायिक कृषि तथा पशुपंक्षीजस्ता कर्जामा सहुलियत दिने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छ ।
यसअघि राष्ट्र बैंकले समेत यस्तो कर्जामा तोकिएको ब्याज अनुदानसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गर्दै परिपत्र गरिसकेको छ । सहुलियत कर्जा उपलब्ध गराउन पनि गत असोज ११ गते नै राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरिसकेको थियो ।