नेपाल प्रहरीले पायो एसियाकै प्रतिष्ठित आईटी अवार्ड |
काठमाडौं । नेपाल प्रहरी एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाउन सफल भएको छ । विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डष्ट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को ‘डिजिटल गभर्मेन्ट अवार्ड’ दिएको छ । टोकियोमा २२ कात्तिकमा कम्प्यूटर एसोसिएन नेपाल महासंघका सदस्य डा. अभिजित गुप्ताले एएसओसीआईओका अध्यक्ष डेबिड वाङबाट ग्रहण गरेको अवार्ड बुधबार आईजीपी सर्वेन्द्र खनाललाई हस्तान्तरण गरिएको छ ।
यसअघि नेपाल प्रहरीले १ भदौमा स्वदेशमै ‘आईसीटी अवार्ड–२०१८’ पनि पाएको थियो । नेपाल प्रहरीले सूचना प्रविधिको उच्चतम सदुपयोग गरेको भन्दै यो अवार्ड दिइएको हो ।