सडक नबन्दा कलंकीदेखि रविभवनसम्मका स्थानीयवासी सडकमा | मेलम्चीको पाइप सडक बन्द गर्न प्रयोग, सडकमा पानी हाल्न छोडेको स्थानीयको आरोप
काठमाडौं । काठमाडौंको रविभवनदेखि कलंकी चोकसम्मका स्थानीय बासिन्दा आज बिहान साढे ९ बजेदेखि नै सडकमा उत्रिए । उनीहरू ‘धूलो धूवाँ अति भो, बाँच्न हामीलाई सारै गारो भो’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर पसल बन्द गर्न लगाउँदै सडकमा उत्रिएका हुन् । बन्दधारीहरूले मेलम्ची खानेपानीका पाइप प्रयोग गरेर सोल्टीमोड कलंकी सडक खण्ड नै बन्द गरेका थिए ।
कलंकी–नागढुंगा सडक खण्डको स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा उक्त सडक खण्डमा पर्ने रविभवनदेखि कलंकी चोकसम्मका स्थानीय बासिन्दा सासै फेर्न गारो भो भन्दै सडकमा उत्रिएका हुन् ।
यसअघि ढुंगाअड्डा, नैकाप, सतुङ्गलका बासिन्दा पनि सडकमा उत्रिएर सडक निर्माण कार्य छिटो सक्न सडक र पसल बन्द गरिसकेका छन् । कलंकीका बासिन्दा पनि यसअघि नै धूलो र धूवाँबाट अति पीडित हुन थालेपछि सडकमा उत्रिएका थिए । सडकमा भेटिएका एक बन्दधारी व्यक्तिले ठेकेदारले धूलो नउडोस् भनेर दैनिक २ पटक सडकमा पानी हाल्दै आए पनि २÷४ दिनपछि उक्त कार्य पनि बन्द गरेको जानकारी दिए ।
सो खण्डमा सडक निर्माण कार्य ढिलो हुँदा स्थानीय धूवाँ र धूलोबाट स्थानीय बािसन्दा पीडित बनेका छन् भने सो रुट हुँदै बाहिरिने सवारीका यात्रुहरूले समेत समस्या भोग्दै आएका छन् । सर्वोच्च अदालतले एक वर्षअघि कलंकी–नागढुंगा सडक खण्ड निर्माणको काम तत्काल सक्न निर्देशनात्मक आदेश जारी गरे पनि उक्त काम अझैसम्म सम्पन्न हुन सकेको छैन ।
यो सडकको निर्माण कार्य शुरू भएको वर्षौं बितिसकेको छ । दैनिक रूपमा अति व्यस्त रहने यो सडकको निर्माण निकै सुस्त गतिमा अगाडि बढेको छ । सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि अनुगमनमा भने ध्यान दिन सकेको छैन । सडक निर्माणका क्रममा कतिपय स्थानमा स्थानीयवासीले उचित मुआब्जाको माग गर्दैै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण पनि सडक निर्माणमा समस्या देखिएको छ ।
स्थानीयले अवरोध गरेको स्थानमा मात्र नभई बाँकी स्थानमा समेत सडक निर्माणको कार्यले गति लिन सकेको छैन । ढल बिछ्याउने, बिजुलीको पोल सार्ने काम अपेक्षा गरेअनुसार अगाडि बढ्न सकेको छैन ।
ठेकेदार कम्पनीको ढिलासुस्ती नै सडक निर्माण सुस्त हुनुको प्रमुख कारण देखिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने यो सडकको नियति नै भइसकेको छ । यसले गर्दा सडकआसपासका जनता हैरान भएका छन् । साथै, यातायात सञ्चालनमा पनि उत्तिकै कठिनाइ छ । यो सडक खण्डमा धूलोका कारण सर्वसाधारणले पनि सहज रूपमा आवतजावत गर्न मुश्किल छ ।
सडक निर्माणको कामको ठेक्का दिए पनि अनुगमन गर्ने सडक विभाग कानमा तेल हालेर बसेको छ । सडक विभागले प्रभावकारी रूपमा सडक निर्माणमा भइरहेको ढिलाइको अनुगमन नगर्दा ठेकेदार कम्पनीले बर्सेनि म्याद थप्दै निर्माणकार्यलाई प्राथमिकता दिन सकेको छैन । सडक निर्माणको क्रममा सरकारी निकायहरूबीच नै आपसी समन्वय हुन सकेको छैन ।
खानेपानी, ढल, विद्युत्, नेपाल टेलिकमबीच समन्वय नहुँदा पनि यो सडक खण्डको निर्माण प्रभावित बन्न पुगेको हो । अहिले पनि बीच सडकमा रहेका जोखिमयुक्त बिजुलीका खम्बा सार्ने तत्परता नेपाल विद्युत् प्राधिकरणले देखाएको छैन ।