परराष्ट्रमन्त्रीको जापान भ्रमणमा श्रम सम्झौताका लागि छलफल हुने | घरेलु कामदारका लागि खाडी मुलुकमा जान लगाइएको रोक तत्काल खुला नहुने
काठमाडौं । जापानमा दक्ष र अदक्ष दुवै खाले नेपाली कामदारका लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेकाले सरकारले जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन पहल गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । परराष्ट्र मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल गरिने जानकारी दिएका हुन् ।
पराराष्ट्रमन्त्री ज्ञवाली जापानी समकक्षीको निमन्त्रणामा मंसिर २ गतेदेखि १ साता लामो भ्रमणका क्रममा जापान जाँदै छन् । सरकारी तहबाटै समझदारी गरेर जापानको श्रम बजारमा नेपाली कामदार पठाउनेबारे छलफल भइरहेको उनको भनाइ छ ।
सो अवसरमा मन्त्री ज्ञवालीले कुबेतलगायत खाडीका अन्य मुलुकमा घरेलु कामदार पठाउन लगाइएको रोक भने तत्काल खुलाउने अवस्था नरहेको बताए । उनले भने, ‘ती मुलुकबाट नयाँ व्यवस्थासहित घरेलु कामदारसम्बन्धी सम्झौता गर्न प्रस्ताव आएकाले श्रम मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।’
घरेलु कामदार पठाउन रोक लगाइँदा महिलाहरू अवैध बाटोबाट श्रम गन्तव्यमा जाने क्रममा झन् जोखिम बढेको उनको भनाइ छ । उनका अनुसार थप जोखिममा नपर्ने गरी मात्र घरेलु कामदार विदेश पठाउन स्वीकृति दिइनुपर्छ ।
संयुक्त राष्ट्रसंघका लागि राजदूत नियुक्ति छिट्टै हुँदै
मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि (राजदूत) छिट्टै पठाउने जानकारी दिएका छन् । उनले राष्ट्रसंघका लागि राजदूत खाली रहेकोमा त्यो पनि छिट्टै नियुक्त गरिने बताए । उनले भने, ‘सकेसम्म राजदूतावासहरू खाली नहुन् भन्ने हुन्छ । तर, कहिलेकाहीँ काम गर्दागर्दै भ्याइन्न, बाँकी देशमा पनि क्रमश नियुक्ति गरिनेछ ।’
यसअघि यही कात्तिक २५ गते मात्रै सरकारले भारत, मलेशिया र यूएईका लागि क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे र कृष्ण ढकाललाई राजदूतमा सिफारिश गरेको छ । तर, राष्ट्रसंघका लागि राजदूत पद अझै रिक्त रहेको छ ।
मन्त्री ज्ञवालीका अनुसार निर्देशिकामा राजदूत रिक्त हुनुभन्दा तीन महिनापहिले नै निर्णय गर्ने गरी निर्देशिका बनाइएको छ । सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णयबारे सोधिएको प्रश्नमा मन्त्री ज्ञवालीले त्यो स्वाभाविक भएको र मन्त्रालयको कामका लागि सरकारले फिर्ता बोलाउन सक्ने बताए । राईलाई संयुक्त राष्ट्रसंघका लागि राजदूतमा नियुक्ति गर्नका लागि फिर्ता बोलाइएको हुनसक्ने स्रोतको दाबी छ ।
मन्त्री ज्ञवालीले चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङको नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताए । लुको नेपाल भ्रमणले नेपालको सन् २०२० को भ्रमण वर्षलाई मद्दत पुर्याउने उनले बताए । बुधवार बिहान चिनियाँ पर्यटन तथा संस्कृतिमन्त्री लु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।