लाइसेन्सको आवेदन मंसिर ७ गतेदेखि खुल्ला | स्मार्ट लाइसेन्स भोलिदेखि छाप्दै मालिका, दैनिक २० हजार छापिने
काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिरबाट खुलाउने भएको छ । दशैंअघिबाट बन्द रहेको सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन मंसिर ७ गते १० बजेबाट खुल्ला गरिने यातायात व्यवस्था विभागले बताएको हो ।
विभागका निर्देशक तीर्थराज खनालका अनुसार अनुसार दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रिट्रायललगायतका कामहरू भने भइरहेका छन् । उनले काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भूको ठूलो भर्याङ, चाबहिल सुकेधारा र एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने जानकारी दिएका छन् । विभागका अनुसार चारवटै कार्यालयबाट ए (बाइक), के (स्कुटर) र बी (कार र जीप) का लागि आवेदन दिन सकिनेछ ।
विभागले सवारी अनुमतिपत्रका लागि कार्यालयको वेबसाइटमा गएर अनलाइन आवेदन भर्न देशैभर अनिवार्य गरिसकेको छ । सरकारले स्मार्ट लाइसेन्स अनिवार्य गरे पनि उक्त सवार िअनुमतिपत्र पाउन वर्ष दिन कुर्नुपर्ने बाध्यता भने अझै हट्न सकेको छैन । करिब ६ लाखले ट्रायल परीक्षा पास गरे पनि ब्याकलगका कारण अझै लाइसेन्स पाउन सकेका छैनन् ।
उक्त ब्याकलक हटाउन विभागले निजी कम्पनी मालिका इन्कर्पोरेशनलाई ६ लाख कार्ड ४५ दिनभित्र छापिसक्न जिम्मा दिएकोमा सो कम्पनीले ५० हजार लाइसेन्स छापिसकेको जानकारी दिएको छ । मालिकाका प्रबन्ध निर्देशक सुरेन ढकालले केही प्राविधिक समस्या आएकाले लाइसेन्स छपाइ रोकिए पनि समस्या हल भएको र भोलिदेखि नै छाप्ने काम शुरू हुने जानकारी दिए । अहिले दैनिक २० हजारसम्म लाइसेन्स छपाइ भइरहेको उनको दाबी छ ।