अर्धचेत जीतबहादुरलाई दूबईबाट स्वदेश फर्काइयो |

दुई महिनादेखि दुबईको रसिद अस्पतालमा कोमामा उपचाररत अर्धचेत अवस्थामा रहेका जीतबहादुरलाई नेपाल फर्काइएको छ । मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको हो ।
नेपाली दूतावास, अबुधाबी र विभिन्न संस्थाको पहलमा उनलाई शनिबार स्वदेश फर्काइएको हो । यूएईमा उडान भर्दै आएका नेपालका एयरलाइन्समा जटिल प्रकृतिका बिमारी बोक्ने सुविधा नभएपछि जीतबहादुरलाई एयर इन्डियाको विमानमार्फत शनिबार राति दिल्ली हुँदै नेपाल लगिएको छ ।
सन् २०१५ मा युएई आएका लिम्बु गत अगस्टमा बेहोस भई अस्पताल भर्ना भएका थिए । काम गर्दै आएको कम्पनी विक्री भएपछि जीतबहादुर लगायत अरु कामदारको बाँकी तलब, नयाँ भिसा र मेडिकल इन्सुरेन्ससम्म बनाइ दिने सर्तमा पुनः नयाँ मालिकसँग उनी सोही कम्पनीमा काम गर्दै आएका थिए । गत अगस्ट १६ तारिख बिहान ड्यिूटी जान खोज्दा उनलाई अचानक चक्कर लाग्यो । काममा पनि जान सकेनन् ।
एकैपटक साँझ कामबाट फर्किएका साथीहरुले उनलाई बेहोसी अवस्थामा भेटे । साथीहरुको सहयोगमा अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले ब्रेन हेमरेज भएको जनाए ।
दुई साता आइसीयूमा राखेर उपचार गरेपछि उनलाई एक महिना नर्मल कोमामा राखिएको थियो । स्वास्थ्यमा पहिलेको भन्दा केही सुधार आएपछि १५ दिनयता वार्डमा अर्धचेत अवस्थामा उपचार भैरहेको थियो । चिकित्सकहरुले यूएईमा थप उपचार गराउनु भन्दा नेपाल लैजान सुझाव दिएपछि उनलाई फर्काउने पहल थालिएको थियो ।