प्रहरीद्वारा डान्स बारबाट ३५ बालबालिकाको उद्धार, तीन जना सञ्चालक पक्राउ | काठमाडौंका अन्य स्थानमा पनि ‘अपरेशन रेस्क्यू अण्डर एज’ सञ्चालन
काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरले बालबालिकासम्बन्धी नयाँ ऐन लागू भएपछि सो व्यवस्थाअनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई पक्राउ गर्नुका साथै ३५ बालबालिकाको उद्धार गरेको छ । प्रहरीले ‘अपरेशन रेस्क्यू अण्डर एज’ मार्फत लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गर्नुका साथै सो संख्याका बालबालिकाको उद्धार गरेको जानकारी दिएको हो ।
वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको पाइएको थियो । उनले भने, ‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्धार गर्ने अभियान नै हामीले चलाएका छौं ।’ उनका अनुसार काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको छ ।