निमा र दावाको कलेजो छुट्टियो |
अष्ट्रेलियाको मल्बर्नमा छातीको तल्लो भाग जोडिएर जन्मिएका भुटानी जुम्ल्याहा बच्चीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यी जुम्ल्याहा बच्चीहरुको छातिको तल्लो भागदेखि पेल्भिसको माथिल्लो भाग जोडिएको थियो भने कलेजो एउटै थियो । मेल्बर्नको रोयल चिल्ड्रेन्स हस्पिटलमा शुक्रबार विहान शल्यक्रिया सफल भएपछि १४ महिने जुम्ल्याहा निमा र दावा पेल्देनले पहिलो पटक एक्लाएक्लै सास फेरेको संचार माध्यमहरुमा जनाइएको छ ।
शल्यक्रियामा पेडियाट्रिक सर्जन जो क्रामेरी को नेतृत्वमा चार सर्जन सहित १८ जना डाक्टर र विशेषज्ञहरुको सहभागिता थियो । बच्चीहरु शल्यक्रियाको लागि शारीरिक रुपमा पुरै तयार नभएको भन्दै चार हप्ता अगाडि गर्ने भनिएको शल्यक्रिया नोभेम्बर ९ का लागि तोकिएको थियो ।
शल्यक्रिया पश्चात दुबै बच्चाहरुको स्वास्थ्य सामान्य रहेको र केही दिन डाक्टरहको विशेष निगरानीमा राखिने डाक्टर क्रामेरीले जानकारी दिए । अहिले दुबै जनालाई सकशुल देख्दा उनी र उनका परिवार झनै खुशी भएको हेराल्ड न्युजले लेखेको छ ।