एभरेष्ट इन्स्योरेन्सको मंसिर १६ देखि हकप्रद शेयर आउने |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत सोमबारसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा पुष २२ गतेसम्म हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रदबाट कायम शेयरधनी कम्पनीको संस्थापक शेयरधनी हुनेछन्।
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनसँगै संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसार एक अर्ब रुपैयाँ पूँजी जुटाउनु पर्ने छ । कम्पनीको जारी पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । कम्पनीले यस अगाडि ६०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको भए पनि धितोपत्र बोर्डले शेयर संरचनामा सर्वसाधारण र संस्थापक दुबै हुनु पर्ने भन्दै रोकेको थियो । यससँगै कम्पनीले पहिलो चरणमा संस्थापकको लागि हकप्रद र दोस्रो चरणमा ३०० प्रतिशत हकप्रद निष्काशन गरि पूँजी जुटाउने योजना बनाएको छ ।
हकप्रद आवेदनको लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।