एडीबीको सहयोगमा पुनर्निर्माण भइरहेका सडकको बाँकी काम अघि बढ्ने भो | आ–आफ्नो जिम्मेवारीमा परेका बाँकी काम समन्वय गरी अघि बढाउने सम्झौता
काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकको बाँकी कार्य अब अघि बढ्ने भएको छ । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भइरहेका ती सडकमा देखिएका विद्युत्, नापी र वनसँग सम्बन्धित समस्याहरू समाधान गर्न सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो जिम्मेवारीमा पर्ने बाँकी कार्यलाई समन्वय गरी अघि बढाउने समझदारी गरेपछि पुर्निर्माणले गति लिने भएको हो । कार्यक्रम राष्ट्रिय पुनर्निर्माण प्राधिरकणमा आज भएको हो ।
नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक हरराज न्यौपानेले पाँचखाल–मेलम्ची सडकका पोलहरू सार्ने ठेक्का लागिसकेकाले काम अघि बढाउने जानकारी दिए । उनका अनुसार सडक विभागले पोलहरू सार्ने बिन्दुका बारेमा अग्रिम जानकारी दिए काम शीघ्र अघि बढाउन सहज हुनेछ । साथै, धादिङ–गोरखाका बाँकी रहेका पोल हटाउन पनि मातहतका निकायलाई निर्देशन दिनुपर्ने उनको भनाइ थियो ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले पाँचखाल–मेलम्ची सडकको मालपोत कार्यालयबाट लगत कट्टाको विवरण प्राप्त भएलगत्तै सडक सीमा तथा व्यक्तिको जग्गा छुट्याइने जानकारी दिए । वन विभागका उपसचिव नवीन गिरीले राष्ट्रिय योजना आयोगबाट पाँचखाल–मेलम्ची सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक हो भन्ने व्यहोराको पत्र पाएपछि रुख कटानको काम अघि बढ्ने जानकारी गराए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अति आवश्यक पुनर्निर्माण कार्यमा सम्बन्धित निकायबीच समन्वय हुन आवश्यक रहेको धारणा व्यक्त गर्दै यी आयोजनाको अवरोध हटाउनका लागि विशेष ध्यान दिन आग्रह गरे । पाँचखाल–मेलम्ची सडकमा विद्युत्का पोलहरू हटाउन तथा सडक र व्यक्तिको जग्गा छुट्याउन बाँकी रहेको आयोजना निर्देशनालयले बताएको छ । त्यसैगरी, धादिङ–गोरखा सडकमा पनि बिजुलीका पोेल सबै हटाइसकिएका छैनन् भने मुआब्जा वितरण कार्यमा पनि सन्तोषजनक प्रगति भएको छैन ।
बैठकमा भूकम्पीय आकस्मिक सहायता आयोजनाका आयोजना निर्देशक सरोजकुमार प्रधान, एडीबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरीलगायतको उपस्थिति थियो ।