ग्लोबल आइएमई बैंकको नाफा ५२ प्रतिशतले बढ्यो |
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५२.४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ थियो ।
निक्षेप संकलनभन्दा ऋण लगानीमा एग्रेसिभ देखिएको बैंकको खुद व्याज आम्दानी ५५ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्ष ७७ करोड ३५ लाख रुपैयाँ थियो। बैंकको निक्षेप ६.२२ प्रतिशतले बढेर एक खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । बैंकको ऋण लगानी १४.५५ प्रतिशतले बढेर ९९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । पूँजी कोष अनुपात ०.४६ प्रतिशतले बढेर ११.२७ प्रतिशत छ। आधार व्याज दर १०.५९ प्रतिशत छ । खराव कर्जा १.०५ प्रतिशत छ भने प्रति शेयर आम्दानी ४.६६ रुपैयाँले बढेर २४.११ रुपैयाँ पुगेको छ ।