छठ पर्वको मुख्य दिन आज सूर्यदेवको आराधना गरी मनाइँदै |
काठमाडौं । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतवारदेखि शुरू भएको हो । काठमाडौं उपत्यकालगायत मिथिलाञ्चल प्रदेशमा यो पर्व भव्यताका साथ मनाइन्छ ।
छठ पर्वको विशेषता
सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । ऐतिहासिक तथा पौराणिक ग्रन्थ महाभारतमा द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उक्त ग्रन्थमा उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा शुरू भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको कल्पना गर्न सकिन्न । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको कथा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
यस्तो छ व्रत विधि
छठको पहिलो दिन (चतुर्थी) माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायत नखाइकन व्रत शस्न थालिन्छ । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभरि निर्जला व्रत बसिन्छ । साथै, राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गरिन्छ ।
यस दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ । तेस्रो दिन (षष्ठी) मा गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट बनेका विभिन्न गुलिया खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।
जलाशयको किनारमा परिकारहरू राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतालुले पाँच पटक साष्टाङ्ग दण्डवत् गर्छन् । व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउन लागेका सूर्यलाई अर्पण गर्छन् र बाहिर आउँछन् ।
चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याएर प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण अर्थात् छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म लाग्दैन भन्ने धार्मिक विश्वास छ । तराईको सीमित क्षेत्रमा मनाइने छठ पर्वले हाल आएर राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । हाल यो पर्वका अवसरमा अधिराज्यभर सार्वजनिक बिदा दिने गरेकोमा यस वर्ष काटिएको छ ।
राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा छठ पर्वका लागि विभिन्न सजावट गरिएको छ । छठका व्रतालुहरू कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।