राष्ट्र बैंक आज करिब ८ अर्बको ट्रेजरी बिल सार्वजनिक गर्दै |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुनः करिब ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । अघिल्लो साता ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको नेपाल राष्ट्र बैंकले गत मंगलवार ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी जारी गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
हिजो सोमवार उक्त ट्रेजरी बिलको बोलकवोलमा सहभागी भएकाहरूलाई आज उक्त ट्रेजरी बिल सार्वजनिक गर्ने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँ, ९१ दिनका लागि २ अर्ब ५३ करोड रुपैयाँ र १ सय ८२ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी हुनेछ । यसअघि अघिल्लो साता राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।
ट्रेजरी बिल १ वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा १ वर्ष) स्रोत जुटाउन यो बिल राष्ट्र बैंकले विक्री गर्ने गर्छ । ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सबै वर्गका बैंक वित्त कम्पनीका साथै संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने र बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्छ ।