प्राइम बैंकले ओम डेभलपमेन्टलाई प्राप्ति गर्ने |

काठमाडौं । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ । दुई बैंकले गत भदौ ३ गते एक्विजिसनमा जाने सम्झौता गरी सैद्धान्तिक सहमतिका लागि भदौ ४ गते राष्ट्र बैंकमा निवेदन दिएका थिए ।
राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम विभिन्न शर्तहरुको अधिनमा रहेर एक्विजिसन प्रक्रिया सम्पन्न गर्न ‘क’ वर्गको प्राइम कमर्सियल र ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैंकलाई सैद्धान्तिक सहमति दिएको हो ।
दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्नेछ । सम्पति तथा दायित्वको मूल्याङ्कन डीडीएबाट शेयर स्वाप तय गरिने बताइएको छ । दुई बैंक एक भएपछि बन्ने बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्ने छ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेका बैंकहरुले थप मर्जरले बाटो समात्दा कम पूँजीका साना बैंकहरुलाई पूँजी वृद्धिको दबाव पर्ने देखिएको छ । मर्जर र एक्विजिशनकै बाटो बाट आठ अर्ब पूँजी पुर्याएको प्राइम बैंकले मर्जरबाटै बलियो बनेको ओम डेभलपमेन्टलाई प्राप्ति गर्ने भएपछि अन्य बैंकहरुलाई समेत पूँजी बढाउन अप्रत्यक्ष दबाव परेको छ ।
वित्त बजारको चुनौती र राष्ट्र बैंकको अस्थिर नीतिको सामना गर्न बलिया बैंकहरु मर्ज हुने अवस्था पुगेको हुन । दुबै बैंकले संयुक्त रुपमा गत बर्षको लाभांश वितरणको प्रस्ताव गर्ने र एक्विजिशन प्रक्रिया पुरा गरी वित्तीय कारोबार थाल्ने योजना बनाएका छन् । सिटी डेभलपमेन्ट बैंक र ओम फाईनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैंकले मनास्लु डेभलपमेन्ट बैंकलाई आफुमा गाभेको थियो । त्यस्तै प्राइम बैंकले विराटनगरको विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई आफुमा मिसाएको थियो ।
राम्रा मानिएका वाणिज्य बैंक र विकास बैंकको यो मर्जरले कम पूँजीका अन्य साना बैंकहरुलाई मर्जरमा जान दबाव परेको छ भने ठूला बैंकहरुलाई समेत प्रतिस्पर्धामा उत्रन पनि पुँजी आधार बलियो बनाउनुपर्ने देखिन्छ ।