सिटिजन्स बैंकको नाफा ३४ करोड ३५ लाख रुपैयाँ |
काठमाडौं । चालू आर्थिक बर्षको वित्तीय विवरण प्रकाशन गर्ने चौथो बाणिज्य बैंक बनेको सिटिजनले करिब ३५ प्रतिशतले खुद मुनाफा बढाएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षको तुलनामा ३१ करोडबाट बढेर ३४ करोड ३५ लाख पुर्याएको छ ।
बैंकले तीन महिनामा खुद व्याज आम्दानी ५६ प्रतिशतले सुधार गर्दै ७५ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले निक्षेपभन्दा ऋण लगानी धेरै गरेको छ । बैंकले ६३ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५९ अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । बैंकले एफपिओबाट आर्जन गरेको प्रिमियमबाट जगेडा कोष ९७ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । पूँजी कोष अनुपा १५.६६ प्रतिशत छ भने खराव कर्जामा केहि सुधार सँगै १.२३ प्रतिशतमा झरेको छ ।
दोस्रो बजारमा प्रति कित्ता २४० रुपैयाँ हाराहारीमा कारोबार हुँदै आएको बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट २१ रुपैयाँ ३५ पैसामा बढोत्तरी भएको छ । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १८ पैसा रहेको छ ।
यस अवधिमा बैंकको कोष लागत ८.७४ प्रतिशत छ भने आधार ब्याजदर ११.४७ प्रतिशत छ । बैंकको आधार ब्याजदर ११ प्रतिशत नाघेको अवस्थामा सिटिजन बैंकलाई सस्तो ब्याजमा ऋण दिन केहि असहज हुनेदेखिन्छ । यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सिसिड़ी अनुपात) समेत ७९.६२ प्रतिशत छ ।