आजदेखि शेयर कारोबार पूर्ण अनलाइन प्रणालीमा |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट शेयर कारोबारलाई पूर्ण रुपमा अनलाइन प्रणाली लगेको छ । नेप्सेले आजदेखि शुरुवात गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले नेप्सेलाई स्वायत्त संस्थाको रुपमा अघि बढाइने बताए ।
अनलाइन कारोबार प्रणालीको सुरुवातले शेयर बजारले प्राविधिक रुपमा फड्को मारे पनि बजारका अन्य पूर्वाधार विकासमा जोड दिनुपर्ने अर्थमन्त्रीको भनाई छ । उनले अनलाइन कारोबारले बजारलाई आधुनिक चरणमा लगेपनि अझै पनि शेयर बजारमा वित्तीय उपकरणको किनबेचमा विविधकरण हुन नसकेको भन्दै शेयर बजारमा कारोबार हुने प्रोडक्टहरुको विविधीकरण आवश्यक रहेको औल्याएका छन् ।
नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ । प्रविधिको प्रयोग बढेसँगै अनलाइन कारोबार शुरु गरिएको नेप्सेले जनाएको छ । दिनदिनै ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न पाउन भन्ने उद्देश्यले नेप्सेले अनलाइन प्रणाली शुरु गरेको बताएको छ ।
आजदेखि आम लगानीकर्ताले इण्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् । अनलाइन कारोबार शुरु भएसँगै सेयर बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।