बैंकिङ कसुरमा पक्राउ परेका अभियुक्तको मृत्यु, परिवारले शव जिम्मा लिन मानेन |
काठमाडौ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीद्वारा पक्राउ गरिएका एक व्यक्तिको आज मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरले बताएअनुसार बालाजु वृत्तले पक्राउ गरेका संखुवासभा घर भई नेपालटार बस्ने ४८ वर्षीय रविन्द्र ढुंगानाको मृत्यु भएको हो ।
सुरेन्द्र कार्कीको जोहरीले ५ लाख रुपैयाँको बाउन्स चेकसम्बन्धी मुद्दामा प्रहरीले उनलाई परिसर झिकाएर आइतबार सोधपुछ गरेको थियो । ‘त्यस क्रममा छलफल गराए पनि उनले रकम दिएनन्’ परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने, ‘हिरासतमा राखिएको थियो । बिहानै साढे ६÷७ बजेतिर उनले असजिलो महसुस गरेपछि वीर हस्पिटल लगिएको थियो ।’
प्रहरीका अनुसार गाडीबाट ओर्लेर आफैं हिँडेर अस्पतालसम्म पुगेका उनको बिहान ११ बजेतिर मृत्यु भयो । काठमाडौं प्रहरी प्रमुख लामाले ढुंगानालाई छारे रोग भएको बताउँदै उपचारका क्रममा अचानक ‘सिभियर एट्याक’ आउँदा मृत्यु भएको बताए ।
उता मृतकको परिवारले भने ढुंगानाको मृत्यु प्राकृतिक नभएको दाबी गर्दै शव जिम्मा लिन मानेको छैन । उनीहरूले सत्य, तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।