एनआईसी एशियाको नयाँ अफर : दुई पटक रकम पठाउँदा १ पटक सित्तैंमा |
काठमाडौं । एनआईसी एशिया बैंकले तिहार तथा छठको अवसर पारेर थप सुविधा ल्याएको घोषणा गरेको छ । बैंकका अनुसार अब ३ पटकको सट्टामा मात्र हरेक दुई पटक रकम पठाउँदा १ पटक सित्तैंमा पठाउन पाउने अवसर प्रदान गरिएको छ ।
बैंकले तिहार तथा छठलाई लक्षित गरी नेपालभरि एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैंमा पठाउने छुट प्रदान गरेको हो ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर रहेका सबै २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ इकाइ एवम् ६ हजार ७ सयभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ ।
यस्तो सुविधा कात्तिक र मङ्सिर दुई महिनासम्म मात्र लागू हुनेछ । उक्त योजनाबाट चाडपर्वको समयमा ग्राहकहरूलाई उच्चतम लाभ पुग्ने विश्वास बैंकले लिएको छ । साथै, यो योजना २०७५ साल कात्तिक १८ देखि २०७५ साल मङ्सिर २९ गतेसम्म लागू हुने बैंकले बताएको छ ।