भोलिदेखि पूर्ण स्वचालित अनलाईन कारोबार, शेयर बजारमा १२.३७ अंकको सुधार |
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले भोलि मंगलबारदेखि पूर्णरुपमा स्वचालित अनलाइन प्रणालीबाट कारोबार शुरु गर्ने भएको छ । अनलाइनमा जानुभन्दा एक दिन अगाडि आज शेयर बजारमा दोहोरो अंकले सुधार देखिएको छ । सोमबार सबै भन्दा धेरै प्रभु बैंकको शेयर ४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबै भन्दा धेरै ६ प्रतिशतले कमाएका छन् भने सिर्जना फाइनान्सका शेयरधनीले १.८६ प्रतिशतले गुमाएका छन्।
सोमबार १२.३७ अंकले सुधार भएको शेयर बजारमा २४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सम्पूर्ण सूचक तथा उपसूचक हरियो भएको शेयर बजार १.०२ प्रतिशतले बढेको हो । नेपाल सरकारले आफ्नो ढुकुटीको पैसा बैंकिङ च्यानलमा पठाउने भएसँगै बैंकिङ तरलता सहज हुने अनुमानले शेयर बजारमा केहि प्रभाव पारेको बताइएको छ ।
नेपाल स्टक एक्सचेन्जले भोलिदेखि अनलाइन प्रणाली शुरु हुने घोषणा गरेसँगै लगानीकर्तामा उत्साह छाएको छ । लगानीकर्ताले लामो समयदेखि प्रतिक्षा गरेको अनलाईन प्रणाली शेयर बजारमा आउने भए सँगै बजारमा सुधार देखिएको हो ।