यसरी बनाउनुहोस् आकर्षक डिजाइनका रङ्गोली |

तिहारमा बत्ती, रङ तथा फूलको विशेष महत्व हुन्छ । यस पर्वमा यस्ता सामग्रीले घर सजाउने गरिन्छ । रङ्गोली बनाएर पनि तिहारको उत्सव मनाइन्छ । नेपालको तराई क्षेत्रमा घर सजाउन तथा उत्सव मनाउन प्राचीन समयदेखि नै रङ्गोली बनाउने परम्परा छ । अहिले यसले व्यापकता पाउँदै पहाड तथा हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ । पहिले–पहिले घरको ढोकामा चामल, पीठोले रङ्गोली बनाउने गरिन्थ्यो ।
समयसँगै रङ्गोली बनाउने कला तथा सामग्रीमा परिवर्तन हुँदै गएको छ । साथै, अचेल तिहार तथा विशेष रूपले आयोजना गरिने कार्यक्रममा पनि रङ्गोली बनाउने गरिन्छ । रङ्गोलीलाई एकदमै शुभ मानिन्छ । देवी महालक्ष्मीलाई घरमा आमन्त्रण गर्न रङ्गोली बनाउने गरिएको सामाजिक मान्यता पाइन्छ । साधारणतया रङ्गोली रङको पाउडरबाट बनाइन्छ । यसैगरी फूल, जरी पाउडर, काँक्रोलगायतको बियाँ तथा चामलबाट पनि रङ्गोली तयार पारिन्छ । कतै–कतै साबुदानालाई अलगअलग रङले रङ्गाएर पनि रङ्गोली बनाइएको देखिन्छ ।
रङ्गोली जस्तोसुकै बनाए पनि त्यसको बीच भागमा दियो सजाउँदा विशेष आकर्षण थपिन्छ । चलनचल्तीमा रहेका रङ्गोलीका केही डिजाइनबारे यहाँ उल्लेख गरिएको छ ː
पारम्परिक रङ्गोली

पारम्परिक रङ्गोली चामलको पीठो तथा चकको पाउडरबाट बनाइन्छ । यदि रङ उपलब्ध छैन भने तपाईं यी सामग्रीको प्रयोगबाटै रङ्गोली बनाउन सक्नुहुन्छ । यो डिजाइन लाइन तथा बिन्दुद्वारा तयार पारिन्छ । यो बनाउन तुलनात्मक रूपमा सजिलो पनि हुन्छ ।
एब्ट्र्याक्ट रङ्गोली

यदि तपाईं यो तिहारमा आफ्ना घरमा आएका पाहुनालाई खुशी बनाउन चाहनुहुन्छ भने यो रङ्गोली बनाउन सक्नुहुन्छ । यसमा चम्किला रङको सहायताले अनौठो डिजाइन तयार पारिन्छ । यसमा बनाइने एउटा ठूलो फूल तथा वरिपरि चम्किला रङको प्रयोगले सबैलाई आकर्षित बनाउँछ ।
ईश्वरको रङ्गोली

यसमा तपार्इं आफ्ना मन पर्ने देवीदेवताको तस्वीरलाई रङ्गोलीमा उतार्न सक्नुहुन्छ । धेरैले भगवान् गणेशको चित्र रङ्गोलीमा बनाउने गरेको पाइए पनि तपाईं आफ्नो इच्छाअनुसार कुनै पनि इष्ट देवीदेवताको चित्र तयार पार्न सक्नुहुन्छ ।
सजिलै शुरुआत गर्न सकिने रङ्गोली

यो रङ्गोली बनाउन एकदमै सजिलो हुन्छ । यदि घरमा ठाउँको कमी छ भने यस्तो रङ्गोली बनाउन सकिन्छ । चकको पाउडर वा रङको सहायताले बनाउन सक्नु यो रङ्गोलीको विशेषता हो ।
फूलबाट बनेको रङ्गोली

यदि रङबाट रङ्गोली बनाउन सक्नुभएको छैन भने तपाईं फूलको रङ्गोली पनि बनाउन सक्नुहुन्छ । बजारमा विभिन्न रङका फूल पाइन्छ । फूलको सहायताले तपाईंले सजिलै रङ्गोलीको डिजाइन तयार गर्न सकिन्छ । फरक फरक फूलको सहायताले बनाइएको रङ्गोली निकै सुन्दर देखिन्छ ।
ज्यामितीय रङ्गोली

यस्तो डिजाइन एकदमै आकर्षक हुन्छ । रेखाका साथै ज्यामितीय डिजाइनबाट यो रङ्गोली बनाउने गरिन्छ । यसमा बीच–बीचमा बत्तीको पनि प्रयोग गर्न सकिन्छ ।
मोती तथा पत्थरबाट बनाइने रङ्गोली

यदि तपाईं शानदार रङ्गोली बनाउन चाहनुहुन्छ भने मोती तथा पत्थरको प्रयोग गर्नुहोस् । शुरूमा एउटा रङ्गोलीको डिजाइन बनाउनुहोस् र त्यसमाथि रङ भर्नुहोस् । अब त्यसमा मोती, पत्थर तथा पोतेका रङ्गी–बिरङ्गी दाना प्रयोग गर्नुहोस् ।
रङ्गीन चामलबाट बनेको रङ्गोली

चामललाई रङमा भिजाएर यस्तो रङ्गोली बनाउन सकिन्छ । हिन्दू परम्परामा चामललाई शुभ मानिन्छ । चाडपर्वमा यसको प्रयोगले सौभाग्य बढ्ने विश्वाससमेत गरिन्छ । यस रङ्गोलीमा तपाईं चामलबाट गणेश भगवान्को तस्वीर बनाउन सक्नुहुन्छ ।
किनारा भएको रङ्गोली

यदि घरमा ठाउँको कमी छ भने यस्तो रङ्गोली बनाउन सकिन्छ । ढोकामा रङको सहायताले लाइन बनाएर त्यसलाई सजाउँदा आकर्षक देखिन्छ । यसले घरमा तिहारको उल्लासमय वातावरण सृजना गर्छ । यसमा तपाईं बत्ती पनि बाल्न सक्नुहुन्छ ।
आधा रङ्गोली

शहरमा यस्तो रङ्गोली बनाउन सकिन्छ । यसले कम ठाउँ लिनुका साथै यसको डिजाइन आकर्षक पनि देखिन्छ । यसबाट परिवारका सदस्य तथा आफन्तहरूले आनन्द महसूस गर्न सक्छन् ।