प्रकृति पूजाको उत्सवː तिहार |
अहिले देशैभर तिहारको रमझम शुरू भइसकेको छ । घरआँगनमा ढकमक्क फूल फुलेका छन्, घरकोठाको सजावट र रङरोगन गरिँदै छ, विदेशिएका दाजुभाइहरू घर फर्कन थालेका छन् भने दिदीबहिनीहरूले यो उत्सवलाई ‘विशेष’ बनाउन सोहीअनुसार तयारी थाल्दै छन् । फूलमाला, रङ, झिलिमिली बत्ती र देउसीभैलाले तिहारलाई अन्य पर्वको भन्दा बेग्लै रौनक थपेका छन् । त्यसैले, यो बच्चादेखि वृद्धसम्म सबैलाई मन पर्ने हर्षोल्लासको पर्व मानिँदै आएको छ ।
तिहार दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने चाडको रूपमा लोकप्रिय छ । प्रकृति र पशुपक्षीको समेत पूजा गरिने भएकाले अन्य यसको पनि छुट्टै महत्व छ । नेपालीहरू प्रकृतिका पूजक हुन् । त्यसैले, प्रकृतिको श्रद्धा तथा संरक्षणमा प्रेरित गर्ने पर्व पनि हो तिहार ।
सञ्चारको दूत काग, बफादार जनावर कुकुर, अमृत रूपी दूध दिने गाई, मल कृषिउपज हो भने शरीरलाई पनि उत्तिकै हेरचाह गर्नुपर्छ भनेर गरिने म्ह पूजा प्रकृति पूजाका उदाहरण हुन् ।
काग तिहार
भूकम्प जान लागेको खबर सर्वप्रथम कागलगायत चराचुरुङ्गीले थाहा पाउँछन् । कागले प्राकृतिक विपत्तिको पूर्व सङ्केत दिन्छ । मानिसहरू कागलाई मृत्युको दूत पनि भनिन्छ । कागले मानिसको घरमा सन्देश पुर्याउने काम गर्छ भन्ने मान्यता छ । यस दिन कागले भाग्य ल्याउने विश्वासका कारण तिहारको पहिलो दिन यसको पूजा गरिन्छ ।
कुकुर तिहार
कुकुर हाम्रो सामाजिक रक्षक हो । गल्ली र सडकमा डुल्ने भुस्याहा कुकुरले पनि हाम्रो घरलाई पहरा दिने र चोरको सङ्केत दिने गर्छ । सबैभन्दा बफादार प्राणी कुकुर पनि हाम्रो समाजको अङ्ग हो भनी तिहारको दोस्रो दिन पुज्ने गरिन्छ । घरमा कुकुर नभएकाहरूले पनि विभिन्न परिकार तयार गरेर आफ्नो टोलछिमेकमा भएका कुकुरहरूलाई दिने चलन रहिआएको छ ।
कुकुरमा सँुघ्ने शक्ति एकदम बढी हुन्छ । धेरै टाढाको गन्ध पनि त्यसले थाहा पाउन सक्छ । त्यसैले, चोर पक्रनका लागि पनि कुकुरकै सहायता लिइन्छ । निदाएको बेलामा पनि ऊ सानो आवाजमा ब्यूझिन सक्छ । संसारमा कुकुर निकै विश्वासिलो पात्र मानिन्छ । खानेकुरा थोरै पाए पनि सन्तुष्ट हुने, धेरै दिए पनि खाने प्राणी हो कुकुर । त्यसैले, कुकुरका यी गुण सम्झँदै उसलाई पूजा गरेर मीठो खानेकुरा खान दिइन्छ ।
लक्ष्मीपूजा⁄ गाई तिहार
तिहारमा धनकी देवी लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्न रुचाउने देवी भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीसँगै तेल तथा पानीको प्रयोग धेरै हुन्छ । उज्यालो लक्ष्मीको प्रतीक हो । त्यसैले, घर तथा भण्डारमा लक्ष्मी डाक्ने पर्व भएकाले यो बेला बत्तीको प्रयोग अत्यधिक हुन्छ ।
हिन्दूहरू गाईलाई समृद्धि र धनको प्रतीकका रूपमा लिने गर्छन् । यस दिन घरका हरेक कुनाको सफाइ गरी फूलमालाले सजाइन्छ । साँझ दीपावली गर्दै लक्ष्मीको पूजा गरिन्छ । यस दिन विशेषगरी केटाकेटी र महिलाहरू विभिन्न बाजा घन्काउँदै घरघरमा गई भैली खेल्ने गर्छन् । भैली खेल्न आएकाहरूलाई घरका मुख्य मान्छेले सेलरोटी, फलफूल, दक्षिणा आदि दिएर बिदा गर्दछन् ।
नेवार समूदायमा यस दिन अन्न पूजा गरिन्छ । पहिला नेवारहरूले विशेषगरी कृषि पेशा गर्थे । त्यतिबेला लक्ष्मीपूजाको दिनसम्म घरमा नयाँ अन्न भित्राईसकेका हुन्थे । त्यही भित्राइएको नयाँ अन्नको पूजा यस गर्ने चलन छ । आफ्नो घरमा रहेका जति पनि अन्न भण्डारण गरिएका ठाउँहरू छन्, ती सबैमा यस दिन पूजा गरिन्छ ।
गोवद्र्धन र म्हःपूजा
तिहारको चौथो दिन गोवद्र्धन पूजा गरिन्छ । यस दिन बिहान सबेरै गोबरको पूजा गरिन्छ । गाईगोठमा पनि पूजा गर्ने परम्परा रहिआएको छ । द्वापरयुगमा गाईलाई गोवद्र्धन पहाडले रक्षा गरेको हुनाले यसको पूजा गरिन्छ । अनि प्रकृतिलाई संरक्षण तथा खनजोत गर्ने हिसाबले गोरुको समेत पूजा गर्ने चलन छ ।
यही दिन विभिन्न बाजाका साथ नाच्दै÷गाउँदै देउसी खेल्ने गरिन्छ । देउसी खेल्न आएकाहरूलाई पनि सेलरोटी, विभिन्न फलफूल र दक्षिणा दिइन्छ ।
नेवार समूदायमा यस दिनको छुट्टै महत्व छ । नेवार जातिले यस दिन म्हःपूजा गर्छ । ‘म्हः’ अर्थात् आफ्नो शरीरलाई पूजा गर्ने चलन पहिलेदेखि नै रहिआएको छ । वर्षभर आफ्नो शरीरले साथ दिएको र नयाँ वर्षमा पनि विभिन्न बाधाअड्चन पार गरी पञ्च तत्वबाट बनेको आफ्नो शरीर सन्तुलित राख्दै जीवन अगाडि बढाउन सकियोस् भनी म्हःपूजा गरिन्छ ।
शरीरका अलावा आफ्ना घरमा रहेका कुचो, भाँडाकुडा, नाङ्ला, सिलौटालगायत दैनिक प्रयोगमा आउने सामग्रीलाई पनि उत्तिकै श्रद्धा गर्नुपर्छ भने सन्देश दिन तिहारको चौथो दिन तिनलाई पुज्ने गरिन्छ । यस दिनदेखि नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत् शुरू हुन्छ ।
भाइटीका
तिहारको पाँचौं दिन भाइटीका हो । यस दिनको विशेष महत्व छ । यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई दीर्घायुको कामना गर्दै टीका लगाइदिने गर्छन् । यस दिन यमराज पनि आफ्नी बहिनी यमुनाको हातबाट टीका ग्रहण गर्न जान्छन् भन्ने जनविश्वास छ । दाजुभाइलाई आयु, आरोग्य वृद्धि र समृद्धिको कामना गरेर दाजुभाइको पूजा गर्ने चलन छ । यमराज र उनकी बहिनी यमुनाको कथासँग पनि यो दिनलाई जोड्ने गरिन्छ । कहिल्यै नसुक्ने मखमली फूलको मालासहित जल र तेलले घेरेर दाजुभाइको पूजा गर्दा यमराजको दूतले पनि केही गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । दाजुभाइलाई पानीले छेक्ने, सप्तरङ्गी टीका लगाउने चलनले दिदीबहिनी र दाजुभाइबीचको आपसी सम्बन्ध प्रगाढ गर्न मद्दत पुर्याउछ ।
भाइटीकाका लागि मखमली फूलको माला लगाइदिन्छन् । दिदीबहिनीहरूले भाइटीकाको विधिअनुसार सप्त वा पञ्चरङ्गी टीका लगाइदिने गर्छन् । यी पञ्चरङ्गी टीकालाई पृथ्वी, वायु, तेज, आकाश र जलको प्रतीकका रूपमा लिइन्छ । टीका र माला ग्रहण गरेपछि आफ्ना दिदीबहिनीलाई उपहार दिने प्रचलन छ ।