मुक्तिनाथ विकास बैंकको नाफा ४८ प्रतिशतले वृद्धि |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४८ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले सो अवधिमा २० करोड ३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो आम्दानी प्रतिशेयर ३०.९३ रुपैयाँबराबरको हो । अघिल्लो आवको सोही समयमा बैंकको नाफा १३ करोड ५४ लाख रुपैयाँ थियो ।
बैंकले सो अवधिमा कुल निक्षेप बढाउँदै ३३ अर्ब २५ करोड रुपैयाँ पुर्याउँदा २८ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको सोही समयमा बैंकको निक्षेप संकलन १९ अर्ब ५४ करोड थियो भने कर्जा लगानी १६ अर्ब ८० करोड रुपैयाँ थियो । बैंकले यो त्रैमासमा ४२ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेर निष्क्रिय कर्जा अनुपातलाई ०.०२ प्रतिशतमा कायम राखेको छ, यो नगन्य प्रतिशत हो ।
बैंकको लगानीयोग्य कोषको लागत ८.३३ प्रतिशत र आधार ब्याजदर ११.८९ प्रतिशत हुँदा ब्याजदरको स्प्रेडदर ६.४४ प्रतिशत कायम गरेको छ । लघुवित्त सेवातर्फ ठूलो लगानी गरेको उक्त बैंकको उक्त स्प्रेडदर धेरै देखिए पनि लघुवित्त सेवालाई त्यसबाट अलग गराउँदा बैंकको स्प्रेडदर ४.८५ प्रतिशत मात्र रहेको छ ।
त्रैमासको अन्त्यमा ३९६ रुपैयाँ शेयर मूल्य रहेको बैंकको सो मूल्यका आधारमा मूल्य आम्दानी अनुपात १२.८१ प्रतिशत रहेको छ ।