अपर तामाकोशीको आईपीओ भर्ने आज अन्तिम दिन | भागभन्दा साढे २ गुणा आवेदन, माग गरेजति सबैले पाउने
काठमाडौं । अपर तामाकोशीले निष्कासन गरेको आईपीओको आवेदन दिने म्याद आज सकिँदै छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको उक्त शेयरका लागि आवेदन तीन दिनमै मागभन्दा साढे दुई गुणा बढी आवेदन परेपछि आज साँझबाट निष्कासन बन्द गर्दै छ ।
उक्त शेयरका लागि आइतवारसम्ममा ३ अर्ब ९५ करोड रुपैयाँका लागि आवेदन परेको छ । २ लाख ५ हजार जनाले ३ करोड ९५ लाख कित्ताका लागि आवदेन दिसकेका छन् । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रुपैयाँको आईपीओ निष्कासन गरेको छ।
नेपाल धितोपत्र बोर्डले आवेदन दिनेजति सबैलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्नुपर्ने नियम बनाएकाले यो शेयरमा माग गरेजति सबैले पाउने देखिन्छ ।
सर्वसाधारण लगानीकर्ताले उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट पाइनेछ ।