स्पर्श लघुवित्तको ३२.५ प्रतिशत आईपीओ पारित, चुक्तापूँजी ८ करोड २९ लाख पुग्ने |
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । आज सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम अब संस्थाले जारी पूँजीको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९ लाख रुपैयाँबराबरको २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर सर्वसधारणका लागि निष्कासन गर्नेछ । हाल कम्पनीको जारी पूँजी ८ करोड २९ लाख रुपैयाँ रहेको छ ।
उक्त सभाले विशेष प्रस्तावअन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संशोधन, जारी पूँजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ ।
जनता बंैक नेपाल लि., मेगा बैंक नेपाल लि. र ७५ जना व्यावसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरूले प्रवद्र्धन गरेको यो संस्थाले हाल २० वटा शाखामार्फत करिब १२ हजार सदस्यहरूलाई ४६ करोड कर्जा लगानी गरेको छ । साथै, कम्पनीले करीब ९ करोड रुपैयाँ बचत संकलन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले जानकारी दिए ।
१० करोड रुपैयाँ अधिकृत पूँजी रहेको यस संस्थाको हाल चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पूँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।