सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ र एनआईसी एशियाबीच सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालबीच बैंकिङ साझेदारी तथा वित्तीय क्षमता विकास गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कायममुकायम सीईओ रोशनकुमार न्यौपाने र महासंघको तर्फबाट अध्यक्ष नारायण ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
बैंकले सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको वित्तीय क्षमता विकास गर्ने उद्देश्यसहित उक्त संस्थासँग सम्झौता गरेको बताएको छ ।
सो सम्झौताबमोजिम एनआईसी एशिया बैंकले आफ्ना २६४ शाखा र २० काउण्टरमार्फत सामुदायिक विद्युत् वितरक संस्थामा बैंकिङ स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय अनि उद्योगमा लगानी गर्नेछ ।
समुदायको बैंकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर माथि उठ्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै, उक्त सम्झौताबाट ग्रामीण विद्युतीकरणको विकास, रोजगार तथा उद्यमशीलताको विकास हुनेमा बैंक विश्वस्त रहेको छ ।
नेपाल सरकारका आगामी ३ वर्षभित्र आधारभूत रूपमा सवै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने र ५ वर्षभित्रमा चाहेजति विद्युत् उपलव्ध गराउने भन्ने नीति तथा कार्यक्रमलाई उक्त सम्झौताले ठूलो सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरू गरेपछि देशभरका ५२ जिल्लामा २ सय ८२ सामुदायिक संस्थामार्फत ५ हलाख घरपरिवारका २० लाख उपभोक्तामा विद्युत्को पहुँच पुगेको छ । सामुदायिक विद्युतीकरण शुरू भएको १४ वर्षको अवधिमा सहभागिताबापत समुदायबाट नगद १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम नेपाल विद्युत प्राधिकरणमा जम्मा भइसकेको छ ।