हनुमानढोका क्षेत्रको पुनःनिर्माणले तीव्र गति लियो | गद्दी बैठकको पुनःनिर्माण सम्पन्न, नौतले दरबार र काष्ठमण्डपको पुनर्निर्माण तीव्र

काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त बनेको हनुमानढोका दरबार क्षेत्रमा अहिले पुनर्निमाणले गति लिएको छ । झण्डै तीन दर्जन सम्पदा रहेको यस क्षेत्रमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए । अहिले तिनै सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्र रूपमा भइरहेको हो । हालसम्ममा कुनै सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने केही पुनर्निर्माणका क्रममा रहेका छन् ।
हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा रहेका महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डपको पनि पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । त्यसैगरी, माजु देग पुनःनिर्माणको शुभारम्भ गत सोमबार भएको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ ।
त्यसैगरी, भूकम्पका कारण क्षति पुगेका अन्य सम्पदाहरूको पनि पुनःनिर्माण गर्ने प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए । उनका अनुसार काष्ठमण्डप आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न हुन्छ भने माजु देग पुनःनिर्माण दुई वर्षमा सम्पन्न गर्ने योजना छ ।
केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणको अवस्थामा रहेकाले अवलोकन गर्न आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । यस क्षेत्रमा यस क्षेत्रको पुनर्निर्माणका लागि रू. ४९ करोड बजेट छुट्याइएको कामपाको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ ।