कैलाश विकास बैंकको नाफा १९ प्रतिशतले बढ्यो, ठूलो मात्रामा कर्जा लगानी गर्न सक्षम |
काठमाडौं । कैलाश विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित व्यवसाय विस्तारको विवरण प्रस्तुत गरेको छ । बैंकले सो अवधिमा ११ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन प्रतिशेयर १८.०३ रुपैयाँ हो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १९ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकले आफ्नो निक्षेपलाई २२ अर्ब ८६ करोडबाट बढाएर २४ अर्ब २५ करोड पुर्याएको छ । बैंकले उक्त अवधिमा कर्जा विस्तार २० अर्ब १२ करोडबाट बढाएर २० अर्ब ९२ करोड पुर्याएको छ । बैंकले उक्त अवधिमा निक्षेप १ अर्ब ३९ करोडले बढाएको छ भने कर्जा विस्तार ८० करोडले गरेको छ । सामान्यतया कर्जा विस्तार निक्षेप विस्तारको ८० प्रतिशतभन्दा बढी हुन नहुने मान्यतालाई बैंकले आत्मसात गरेको देखिन्छ ।
सो अवधिमा बैंकले २६ करोड ७० लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष ०.९१ प्रतिशत रहेकोमा यो वर्ष सो दर घटेर ०.३० प्रतिशतमा आएको छ ।
रिपोर्टअनुसार बैंकको मूल्य आम्दानी अनुपात १२.९२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४७.८७ रुपैयाँ र कर्जा निक्षेप अनुपात ७५.१४ प्रतिशत छ । अधिकांश बैंकहरूको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक पुगेको अवस्थामा यो बैंकको यो अवस्था सबल हो, यसले बैंक अझै बजारमा ठूलो मात्रामा कर्जा लगानी गर्न सक्षम छ भन्ने देखाउँछ ।