प्रभु बैंकको खुद नाफा ७१.५ प्रतिशतले बढ्यो |
काठमाडौं । प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा ७१.५७ प्रतिशतले अर्थात २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । ८ अर्ब २३ करोड चुक्ता पूँजी रहेको बैंकले खुद सञ्चालन आम्दानी एक अर्ब ५० करोड रुपैयाँ गरेको छ । बैंकको पूँजी कोष अनुपात करिव १२ प्रतिशत छ ।
बैंकले एक खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ । असोजसम्म ८६ अर्ब रुपैयाँ ऋण बिस्तार गरेको छ । बैंकको आधार दर घट्न थालेको छ । असार मसान्तमा साढे १ प्रतिशतभन्दा माथि रहेको आधार दर असोजमा साढे ९ प्रतिशतमा झरेको छ । एक प्रतिशत बिन्दुभन्दा बढिले आधार दर झरेकाले बैंकको ऋणको ब्याज दर केही कम हुने देखिएको छ ।
त्यसैगरि बैंकले २ अर्ब ६७ करोड १२ लाख ब्याज आम्दानी गरेर एक अर्ब ५३ करोड ७६ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले एक अर्ब १३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ७६ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको प्रति शेयर आम्दानी २९ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात सवा ८ गुणा छ ।