प्राधिकरण तथा यसका कम्पनीले चालू आवभित्र १८ अर्बको आईपीओ ल्याउने |
काठमाडौं । चालू आर्थिक वर्षभित्रै नेपाल विद्युत प्राधिकरणका कम्पनी र सहायक कम्पनीले १८ अर्ब बराबरको साधारण शेयर विक्री गरी तयारी गरेका छन् । यसवर्ष चिलिमेका चार वटा परियोजनाबाट करिब २७० मेगावटका र माथिल्लो तामाकोशी ४५६ गरेर कुल ७२६ मेगावाटका शेयरहरु आउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सबै कम्पनीका शेयरहरु हिसाब गर्दा १८ अर्ब भन्दा धेरै रुपैयाँ सर्वसाधरणबाट उठाइने उनले बताए ।
बिहीबारदेखि प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर विक्री शुरु गरेको छ । तामाकोसीको यो तेस्रो चरणको शेयर विक्री प्रक्रिया हो ।
सो कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा स्थानीयबासीलाई समेत शेयर बिक्री गरिसकेको छ । तेस्रो चरणमा आइपुग्दा तामाकोसीले १० अर्ब रुपैयाँबराबरको साधारण शेयर बिक्री गरिसकेको हुनेछ । नेपाली लगानीमा नै निर्माण भइरहेको सो आयोजनाले सबैभन्दा ठूलो परिमाणको शेयर बिक्री गरेको हो । तेस्रो चरणको शेयर बिक्रीसँगै आयोजनाले नेपाल स्टक एक्सचेन्जमा शेयर सूचीकरण समेत गर्नेछ र दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।
यस्तै आगामी वर्षको कात्तिकदेखि आयोजनाले व्यावसायिक विद्युत उत्पादन शुरु गर्ने छ । सो आयोजना सकिएपछि कम्पनीले रोल्वालिङ र तामाकोसी पाँचौको कामलाई समेत थप सहजीकरण गर्ने प्राधिकरणको योजना छ । तामाकोसी पाँचौ माथिल्लो तामाकोसीको क्यासकेट परियोजना हो । त्यसको क्षमता १०० मेगावाट रहेको छ । यस्तै २२ मेगावाट क्षमताको रोल्वालिङको समेत काम शुरु भएको छ ।
आयोजना निर्माणका लागि केबलकार निर्माणको प्रक्रिया शुरु भएको छ । कडा चट्टानी भीर भएका कारण सडक निर्माण गर्न असहज भएका कारण केबलकार निर्माण गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । कम्पनी मोडलमा नै निर्माण हुने भएकाले ती दुई आयोजनाले समेत सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । त्यसको प्रक्रिया भने शुरु भएको छैन ।
कुल १८ अर्बमध्ये चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनीले मात्रै जारी गर्ने शेयर ८ अर्ब बराबर रहेको छ । रसुवागढी र साञ्जेनले गत फागुनमा नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र प्राधिकरणका कर्मचारीलाई शेयर विक्री गरिसकेको छ ।
निकट भविस्यमा नै कम्पनीले सर्वसाधारणलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । तेस्रो चरणमा रसुवाबासीलाई साधारण शेयर बिक्री गर्ने भएको छ । यस्तै चिलिमे कम्पनीको अर्को सहायक कम्पनी मध्यभोटेकोशीले तीन अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।
प्राधिकरणले अगाडि बढाएका १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्य भोटेकोसी आयोजनाबाट आगामी वर्षभित्र विद्युत उत्पादन हुनेछ ।