नेपाल र थाइल्याण्डबीच हवाई सम्झौता | थाइल्याण्ड काठमाडौंबाहिरका विमानस्थलमा उडान गर्ने पहिलो मुलुक

काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न थाइल्याण्ड तयार भएको छ । नेपाल र थाइल्याण्डबीच हिजो बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा थाइल्याण्डको तर्फबाट थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले हस्ताक्षर गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वमा नेपाली टोली थाइल्याण्ड गएको हो । उक्त सम्झौतासँगै नेपालका काठमाडौंबाहिरका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न सहमत हुने थाइल्याण्ड पहिलो मुलुक भएको छ ।
बिहीवार अबेर थाइल्याण्डमा भएको उक्त सम्झौताअनुसार दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्न पाउनेछन् । यसअघि दुवै देशका एयरलाइन्सले हप्तामा १० वटासम्म मात्र उडान गर्न सक्ने व्यवस्था रहेकोमा नयाँ सम्झौताले यसलाई बढाएको हो ।
नेपाल र थाइल्याणबीच भएको नयाँ हवाई सम्झौताअनुसार थाई एयरलाइन्सहरुलाई काठमाडौंबाहिरका विमानस्थलमा उडान गर्न उत्प्रेरित गर्ने उल्लेख गरिएको छ । यसअघि नेपालले सबै देशसँग त्रिभुवन विमास्थल काठमाडौंमा मात्र उडान गर्ने गरी हवाई सम्झौता गरेको थियो ।थाइल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ सम्झौताअनुसार दुई देशबीच हुने कार्गाे उडानको सीमा तोकिने छैन ।
यसअघि सन् १९७१ मा दुई देशबीच पहिलो हवाई सम्झौता भएको थियो । यो सम्झौतासँगै अब पुरानो सम्झौता विस्थाति भएको छ । सम्झौतामा दुवै पक्षले तेस्रो पक्षको मुलुकसँग सम्झौता गरी ‘थर्ड कन्ट्री कोड शेयर’ आधारमा उडान गर्न सक्ने पनि उल्लेख गरिएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्दिष्ट गरेको ढाँचा र विषयवस्तुमा रहेर सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ ।