ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिकाले साझाको शेयर किने |
काठमाडौं । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले साझा यातायातको शेयर किनेका छन् ।नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेको थियो ।
अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेको पाण्डेको भनाई छ । प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । ललितपुर महानगरपालिकाले १५ करोड, गोदावरी नगरपालिकाले १० लाख र महालक्ष्मी नगरपालिकाले १५ लाख रुपैयाँको शेयर खरीद गरिसकेका छन् । काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ ।
पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ । एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ ।