१२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु |
काठमाडौं । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा पवद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा शुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन् ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।
मेलाको उद्घाटन गर्दै ३ नम्बर प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले व्यवसायिक फूल खेतीको अहिलेका अवस्था अझै बिस्तार हुनु पर्नेमा जोड दिएका थिए । यसका लागि आफुहरुले पुष्पमेलामा सहकार्य गरेको बताएका उनले आयातित फूलको प्रतिष्थापन गर्ने बाटोमा लाग्न व्यवसायीलाई आग्रह गरे ।
प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव इश्वरप्रसाद रिझाल, बनस्पति विभागका महानिर्देशक डा. संजिव राई, कृषि विभागका उपमहानिर्देशक रेवतीप्रसाद पौडेल लगायतले फूल व्यवसाययमा हात हालेकाहरुलाई प्रोत्साहित गरिने बताएका थिए । यसका लागि आवश्यक योजना लिएर आउन पनि व्यवसायीलाई उनीहरुले आग्रह गरे ।
तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोगको एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।
पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको छ । हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने आयोजक फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये प्रदर्शनीमा स्पाईडरतर्फ सम्झना नर्सरी, मिनियचरतर्फ मिलन नर्सरी, इन्क्रर्भतर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन् ।
त्यसै गरी प्रदर्शनीमा सहभागि मध्ये सम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बंगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन् । उल्लेखित सबै मन्त्री लामाले शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरेका छन् ।
मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । मेलाको आकर्षणको रुपमा गोदावरी फूलको विभिन्न नयाँ नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश छन ।
३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
पुष्प व्यवसाय सम्बन्धि केही तथ्य
तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले २०५३ सालदेखि गर्दैै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला विगत २०६४ साल देखि २०७० सालसम्म कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, कृषि बिभाग आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह आयोजक भई गोदावरी मेला संचालन गर्दै आईरहेको थियो ।
२०७१ देखि २०७४ सम्म नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एशोसिएसन नेपालले आयोजना गर्दै आईरहेको थियो । देश संघिय गणतन्त्रमा रुपान्तरण भईसके पछि यस बर्ष प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्न लागेको हो ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले स्थापना काल देखि नै पुष्प व्यवसायमा आईपरेका विभिन्न चुनौति तथा समस्याहरुलाई चिर्दै संभावनालाई पहिल्याउदै सम्पुर्ण पुष्प व्यवसायीहरुको हकहितको लागि निरन्तर रुपमा नेपालमा पुष्प व्यवसायको समग्र बिकास, बिस्तार तथा प्रबद्र्धन गर्दै आईरहेको छ ।
नेपालमा २०११ बाट सामान्यस्तरमा शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तार संग संगै काठमाण्डौँ उपत्यका भित्र मात्र सिमीत नरहि पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा रहेको छ । नेपाली पुष्प व्यवसाय आ.ब. २०७४⁄७५ सम्म आई पुग्दा लगभग ६९७ पुष्प व्यवसायीहरु पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ ।
हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ४३,५०० भन्दा बढि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराई रहेको, यस व्यवसायले आ.ब. २०७४⁄७५ मा जम्मा १ अर्व ८६.७१९९ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।
आ.ब.२०७४⁄७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ रु २.३७२ करोड भएको छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतकोे हाराहारीमा रहेको छ ।
कृषिमा आधारित हाम्रो देश वातावारणीय विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले पुष्प व्यवसायको विकास तथा प्रबद्र्धनको सम्भावना अझ बढीे छ । हाल उद्योगको रुपमा अगाडी बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन आदिमा सम्बन्धित संघ संस्थाहरुले खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ ।