व्यवसायी अग्रवाल पक्राउप्रति नेउवा महासंघको ध्यानाकर्षण |

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उखु किसानको वक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघले वक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेक विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सरकारले त्यस्तो माध्यम नअपनाएकोमा महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत बताएको छ ।
साथै, यस्तो विषयमा गम्भीर भएर सोच्न महासंघ नेपालले सरकारसमक्ष आग्रह गरेको छ । लगानीको वातावरण निर्माणसहित लगानी आकर्षणका लागि सरकार तथा निजीक्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा समेत पहल भइरहेको वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्य राज्यबाटै हुनुले लगानीको वातावरणमा सहयोग नपुर्याउने हुँदा मुलुकले अवलम्बन गरेको विधि, प्रक्रिया र कानूनअनुसार नै सरकार अगाडि बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।