माछापुच्छ्रे बैंकले बढायो नाफा, निक्षेप ७७ अर्ब ९८ करोड रुपैयाँ |
काठमाडौं । माछापुच्छ्रे बैंकले हालै चालू आवको पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा ३८ करोड ६९ लाख ३४ रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा ३७ प्रतिशतले मुनाफा बढाएको हो ।
आव २०७४÷७५ को पहिलो ३ महिनामा यस बैंकले २८ करोड ९ लाख ५९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले मुनाफासँगै ब्याज आम्दानी पनि बढाएको छ । अघिल्लो आवको पहिलो त्रैमासभन्दा ६८ करोड १४ लाखले वृद्धि गरी बैंकले २ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुल ब्याज खर्च भने १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । चुक्तापूँजी ८ अर्ब ५ करोड रहेको माछापुच्छ्रे बैंकको सञ्चित कोषमा २ अर्ब ६९ करोड रुपैयाँ छ ।
१७ अर्बले बढ्यो निक्षेप
माछापुच्छ्रे बैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । बैंकले यस अवधिमा निक्षेप ७७ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । यो रकम अघिल्लो वर्षको पहिलो आर्थिक वर्षको तुलनामा १७ अर्ब ३८ करोड रुपैयाँले बढी हो । बैंकले ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा अनुपात ०.४७ प्रतिशत मात्रै छ भने सीसीडी रेसियो ७८.९२ प्रतिशत रहेको छ ।